नियम २३
प्रतिवेदन पेश गर्नु पर्ने
(१) अनुसन्धान तहकिकातको काम समाप्त भएपछि अनुसन्धान अधिकृतले सङ्कलित सबूद प्रमाण र त्यसबाट देखिएको यथार्थ विवरण विश्लेषण गरी आफ्नो राय सहितको विस्तृत अनुसन्धान प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदनको आधारमा अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा कार्यविधिगत त्रुटी वा अन्य कुनै त्रुटी भएको पाइएमा सो सच्याउनका लागि आयोगले निर्देशन दिन वा उक्त मिसिल कागजात आफैं झिकाई हेर्न सक्नेछ ।
(३) विस्तृत अनुसन्धान प्रतिवेदन परीक्षण गर्न आयोगले आवश्यकता अनुसार पूर्णता परीक्षण समिति गठन गरी त्यसको काम, कर्तव्य र अधिकार तोक्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम समिति गठन भएकोमा आयोगमा प्रतिवेदन पेश हुनु अघि सो समितिमा अनुसन्धान अधिकृतबाट उपनियम (१) बमोजिम पेश भएको प्रतिवेदनउपर आवश्यक परीक्षण हुनेछ।
(५) उपनियम (४) बमोजिम परीक्षण गरी आयोगमा पेश गरिने: विस्तृत अनुसन्धान प्रतिवेदनमा कानून बमोजिम आरोपपत्रमा खुलाउनु पर्ने कुराहरुका अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछः-
(क) मुद्दा नचल्ने राय भएकोमा सोको आधार र कारण, (ख) मुद्वा चल्ने अवस्था भएको तर केही व्यक्तिउपर स्पष्ट नाम थर, वतन खुल्न नसकेको कारण विपक्षी बनाउन नसकिने भए सोको विवरण,
(ग) भ्रष्टाचारबाट प्राप्त सम्पत्ति शुद्धीकरण भए नभएको र भएकोमा सोको विवरण तथा प्रमाण |